२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

ओखलढुंगामा लाखेजात्रा सुरु



ओखलढुंगा ( रेडियो ओखलढुंगा ) हरेक वर्ष मनाईने नेवारी समुदायको एक मुख्य पर्व घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाइएको छ ।
नेवारी समुदायको बसोबास रहेको ओखलढुंगाको सदरमुकाममा शुक्रबार सांस्कृतिक परम्परा अनुसार विशेष पर्वको रुपमा मनाइने घण्टाकर्ण अर्थात् गठेमंगल पर्व मनाइएको हो ।
यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अर्थात् गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन रहेको छ ।
दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमङ्गल बेलुकी जलाएर सेलाउने परम्परा रहेको छ । घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्व मनाएसँगै सदरमुकामा लाखेजात्रा सुरुभएको छ । जसले विशेष गरी कृषक समुदायमा महत्त्व राख्दछ ।
लाखे जात्रा पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, कृष्णजन्माष्टमी जात्रा, रोपाईं जात्रा, लगायत विभिन्न जात्रा देखाउने चलन रहेको छ ।
सदरमुकाममा पारस्पारिक सहयोगी गुठी रामबजार, जनहित गुठी गशेणटोल, र जनसेवा गुठी रमाइलो डाँडाले लाखेजात्रा निकाल्ने गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : १५ बजे