३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन


१७ भाद्र २०८१, सोमबार  

22
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) आज हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
आजका दिनमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले वर्षभरि सम्पूर्ण परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद्का अनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहिआएको छ ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
बुवाको मुख हेर्ने दिन
आज यसै अवसरमा ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप छोराछोरीले आ–आफ्ना बुवालाई विभिन्न प्रकारमा मिठा खानेकुरा तथा उपहार दिएर मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १ : ५९ बजे