२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठायो


२१ भाद्र २०८१, शुक्रबार  

22
Shares

सरकारले विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि पालिकामा अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सबै पालिकामा गरी ६० करोड रुपैयाँ अनुदान रकम पठाएको जानकारी गराउनुभएको हो । उहाँले सबै पालिकामा विद्यार्थीले छात्रवृत्ति पाए÷नपाएको बारेमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ ।सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विपन्न विद्यार्थीले वार्षिक १८ हजार र विज्ञान विषय अध्ययन गर्नेले वार्षिक २४ हजार रुपैयाँ पाउने छन् । यस्तै दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।गैर आवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् । यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको छ । शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति विकट हिमाली जिल्लाका विद्यार्थी लगायत सात वटा लक्षित समूहका ११ हजार चार सय विद्यार्थीको लागि मासिक पाँच हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृति रकम प्रत्येक पालिकाको प्रति विद्यार्थी लागत हिसाब गरी शसर्त अनुदानमा वित्तीय हस्तान्तरण गरेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ११ : ४८ बजे