२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एसमा अपडेट भएँ, एमालेमा फर्किएँः दीपक फूयाँल



ओखलढुंगा (रेडियो ओखलढुंगा) । एकिकृत समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव एमाले प्रवेश गरेका छन् । एकिकृत समाजवादीमा अपडेट हुन पाएको भन्दै उनी एमालेमै फकिएका हुन् ।
एमाले विभाजनको ताका एसको जिल्ला उपसचिवको जिम्मेवारी सहित विद्रोह गरेको फूयाँल एमाले ओखलढुंगा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको चुनावी भेलामा एमालेका उम्मेदवार यज्ञराज सुनुवारबाट टीका थाप्दै एमालेमा फर्किएको एक नेताले जानकारी दिए । टीका लगाउनु अघि उनले यस्तो विज्ञप्ति जारी गरेका थिए ।
‘विद्यार्थी कालको स्कुले जीवनबाट नै मैले समाज रुपान्तरणको मार्क्सवादी मार्गबाट जानी÷नजानी अघि बढ्ने प्रण गरेको थिएँ । सायद केही पारिवारिक, केही सामाजिक त केही आफ्नै शिशु अवस्थाका बुझाइहरुले मलाई यस बाटोमा समाहित हुन मद्दत गरे । उच्च शिक्षा हासिल गर्दै जाने र यस मार्गको आवद्धताले सांगठनिक उचाइँ समेत हासिल गर्दै जाने क्रममा सानै उमेरदेखि नेकपा (एमाले) को कार्यकर्ताका रुपमा अघि बढिरहेको थिएँ । त्यस्तै, समाजको सर्वाङ्गीण विकास र अग्रगतीका निम्ति कम्युनिस्ट पार्टी नै उत्तम विकल्प हो भन्नेमा पनि मलाई कहिल्यै द्विविधा भएन र रहन्न ।

May be an image of 4 people and people standing

पछिल्लो समय हाम्रो पार्टीमा उत्पन्न अप्रत्याशित विभाजनको अवस्थाले हामी सबैलाई असमन्जस्यतामा पार्यो । पार्टी भीत्रको आन्तरिक अन्तरविरोध र वादविवादले हामीजस्तो युवा पंक्तिलाई प्रभाव नपार्ने कुरै भएन । पार्टी नेतृत्वले लिएका केही अडानहरु सही महसुस हुन नसक्नुले तत्कालीन अवस्थामा विद्रोहको बाटो रोज्न पुगियो । विद्रोह पछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिल्ला कमिटी उपसचिव र अनेरास्ववियूमा उप–महासचिवको रुपमा आवद्ध भइ काम गर्दा राजनीतिक रुपमा झन अपडेट हुने अवसर मिल्यो । यसका निम्ति सो पार्टीका जिल्ला अध्यक्ष सहितका कमरेडहरु र अनेरास्ववियूका अध्यक्ष, उपाध्यक्ष र महासचिव सहितका कमरेडहरुले गर्नु भएको सहयोग बिर्सिन सक्तिनँ ।

वास्तवमा विद्रोहको बाटो रोजी समाजवादी पार्टीमा रहँदा पनि मलाई अर्को कुनै छुट्टै पार्टीमा रहेको अनुभूति कहिल्यै भएन । दुवै पार्टीका नेता÷कार्यकर्ता आफ्नै नेता÷कार्यकर्ता जस्ता लागिरहे । यसर्थ ढिलो चाँडो सबै एउटै यात्रामा जोडिनु पर्ने महसुस भइ आजबाट नेकपा (एमाले) मै सक्रिय रहने निर्णय गरेको छु । यस बीचमा विभिन्न ढंगले सहयोग गर्नुहुने सबै शुभ चिन्तक कमरेडहरुप्रति हार्दिक आभार समेत प्रकट गर्दछु ।

दीपक फुयाँल
ओखलढुँगा’

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ०१ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित