१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मानेभन्ज्याङमा चालू आर्थिक वर्षमा ६९ वटा नयाँ कार्यक्रम



ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकाले चालू आर्थिक बर्ष २०७९।०८० मा ६९ वटा विभिन्न नयाँ कार्यक्रम थप गरेको छ । गाउँपालिकाको वैंक खातामा गत आर्थिक बर्षको मौज्दात बजेटबाट काम हुने गरी नयाँ कार्यक्रम थप गरेको छ ।
१२ औं गाउँसभाले ३ करोड ४८ लाख ३१ हजार ३७ रुपैयाँ १० पैसा वराबरको नयाँ कार्यक्रम थप गरिएको उपाध्यक्ष आश्राचन राईद्धारा सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
गाउँसभाले प्रदेश तथा संघमा गत आर्थिक बर्षको बाँकी समपुरक अनुदान २१ लाख ५४ हजार ३७ रुपैयाँ १ पैसा फिर्ता गर्ने निर्णय समेत गरेको उपाध्यक्ष राईले जानकारी दिनुभयो ।
थप कार्यक्रमहरुमा एम्बुलेन्स खरीद ११ लाख ५० हजार, शिक्षामा पहुँच समावेशीकरण र गुणस्तर सुधार संभाव्यता अध्ययन गर्न ७ लाख ८७ हजार, भवन डिपिआर ७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, कृषि सवारी साधन खरीद अनुदान ११ लाख ५० हजार, भूउपयोग वर्गीकरण १० लाख, मध्यकालिन खर्च संरचना निर्माण, ५ लाख रहेको छ । अन्य योजनाहरुमा गाउँपालिका स्थापना दिवस मनाउन ३ लाख, सवारी साधन तथा व्याकहो लोडर मर्मत गर्न १० लाख, करार सेवामा कर्मचारी नियूक्त गर्न ६ लाख बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जानकारी दिनुभयो ।
गाउँसभाले चर्च, मन्दिर, देवीथान मर्मतका लागि पर्याप्त बजेट विनियोजन गरेको छ भने विद्यालयहरुमा तार घेराभार, खानेपानी, सडक, स्वास्थ्य चौकी भवन मर्मत, तरकारी संकलन केन्द्र निर्माण लगायत शिर्षकमा वजेट विनियोजन गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ३८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित