१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ग्याल्पो ल्होसार र तिथि विवाद



  • लाक्पा जी शेर्पा

पञ्चाङ्ग निर्णायक समितिले पौष १५ गते तमु ल्होसारलाई आधार मान्दै पात्रो तयार पार्छ । नयाँ बर्ष वैशाख १ गतेबाट शुरु हुँदै माघ, फागुन महिना सोनाम र ग्याल्पो ल्होसारका लागि अड्कलबाजीमै तिथि तोकिन्छ र भित्तेपात्रोमा लेखिन्छ । समितिकै सिफारिसमा गृह मन्त्रालयले बर्षभरीको सार्वजनिक विदाहरु तयार पारेर राजपत्रमा प्रकाशन गर्छ । सिफारिस भई आएको मितिमा सार्वजनिक विदा दिने नदिने भने मन्त्री परिषद्को निर्णयमा भर पदर्छ ।
२०८० सालको भित्तेपात्रोमा यस्तै गम्भिर खाले त्रुटी देखा पर्यो जब सोनाम ल्होछार र ग्याल्पो ल्होसार माघ २७ गते एकै दिन परे । त्यही दिन तामाङ र शेर्पा लगायत हिमाली आदिवासीहरुले ल्होछार र ल्होसारसँगै मनाए । तामाङ समुदायले टुँडीखेलमा एक दिने ल्होछार र शेर्पा समुदायले ह्यात मैदान चच्चेपाटीमा तीन दिनसम्म ल्होसार मनाएका थिए । यस पटक २१५१ सिङ फो डुक् ल्हो अर्थात गरुड बर्ष शुरु भयो । ल्होसार नयाँ बर्षको अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले समुदायकै प्रतिनिधित्व गर्दै बार्षिक रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । साम्दे शेर्पा वतृत्वकला, श्याब्रु प्रतियोगिता र सम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण । तामाङ समुदायले टुँडीखेलमा मनाएको ल्होछारमा प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् उपस्थित हुनुभयो भने शेर्पा समुदायको कार्यक्रममा आउने वाचा गर्नुभएपनि पार्टीको स्थायी कमिटि वैठकको कारण देखाउँदै आउनु भएन । प्रधानमन्त्रीकै निर्देशनमा सरकारको प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भयो । सोही कार्यक्रममा ल्होसार तिथिमिति बारे जानकारहरुले मन्त्री शर्मालाई अनौपचारिक रुपमा जानकारी दिने काम भयो भने कतिपय वक्ताहरुले मञ्चबाटै ‘असन्तुष्टि’ पोखे ।
सबैको कुरा सुनिसकेपछि मन्त्री शर्माले पञ्चाङ्ग निर्णायक समितिमा सम्वन्धित समुदाय, धर्म क्षेत्रका विज्ञलाई समेट्ने र आगामी फागुन २८ गतेको विदा सच्याउँदै पात्रोबाट हटाउन प्रधानमन्त्री मार्फत गृहमन्त्रीलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
ल्होसार शुरु हुनुभन्दा दुई दिनअघि मात्रै नेपाल शेर्पा संघले प्रेस नोट जारी गरेर ग्याल्पो ल्होसारको तिथिमितिमा त्रुटी रहेको र माघ २७ गते नै ल्होसार मनाउन अपिल गरेका थिए । यसअघि पनि संघले ल्होसार तिथिमिति गलत भएकोले सच्याउन भन्दै सम्वन्धित् मन्त्रालय, पञ्चाङ्ग निर्णायक समितिलाई पत्राचार र ध्यानाकर्षण गराएको थियो । फलस्वरुप गतबर्ष सही तिथिमै ल्होसार परेको थियो । संघलेपनि एक पटक सुझाएपछि सँधै यही विषयलाई दोहोर्याई रहन नपर्ला भनिएपनि यस बर्ष तिथि विग्रिएर आयो । एकमहिना अघि मान्नुपर्ने ल्होसार महिना दिनपछि उल्लेख भएको पाएपछि संघले आपती जनायो ।
त्यसै अनुरुप शेर्पा लगायत ग्याल्पो ल्होसार मान्ने हिमाली आदिवासीहरुले माघमै ल्होसार मनाए । माघ २७ गतेदेखि फागुन १२ गतेसम्म १५ दिन विभिन्न कार्यक्रम गरी शेर्पाहरु ल्होसारमा रमाए । कतिपयले ल्होसारको वनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम फागुन २७ गतेसम्म पनि गरिरहेकै थिए । धेरै वटा संस्था, समूह भएको र आआफ्नो आयोजना भएकाले पालैपालो गर्दा यति लामो समयसम्म पुग्नु परेको हो ।
माघ २७ गतेनै प्रधानमन्त्रीद्धारा जारी शुभकामना सन्देशमा सोनाम र ग्याल्पो ल्होसारलाई संयूक्त शुभकामना दिइएको थियो । त्यही शुभकामनामा प्रधानमन्त्रीले ‘नयाँ वर्षका रूपमा तामाङ समुदायको सोनाम ल्होछार, शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछार लगायत नेपालका हिमाली एवं पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले परापूर्वकालदेखि मनाउँदै आएको पर्वले श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित रहेको भन्दै र ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।’ उल्लेख गरेका थिए ।
प्रधानमन्त्रीले शुभकामनामा ‘सामाजिक एकता, धार्मिक सहिष्णुता, एक जाति र समुदायले अर्को जाति र समुदायको पहिचान र विशिष्टताको सम्मान, राष्ट्रिय एकतासहितको समुन्नतिका लागि प्रेरकको रूपमा समेत रहँदै आएका छन्। तसर्थ, यस्ता पर्वहरू कुनै खास जाति वा समुदाय विशेषका पर्व नभएर सिङ्गो राष्ट्रका साझा पर्वसमेत हुन्।’ भनि उल्लेख गरेका थिए ।
त्यस्तै, २०८० फागुन २८ गते विहान प्रधानमन्त्रीले पुनः ल्होसारलाई शुभकामना दिँदै पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएकोे र शेर्पा समुदायको मौलिक परम्परा अनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार, आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहिआएको भनि उल्लेख भएको पाइयो ।
त्यसबेला शुभकामना दिने प्रायः राष्ट्रको प्रमुखहरुको भाषा र यतिवेला पुनः प्रयोग भएका भाषाशैली खासै फरक थिएन । मात्रै, सबै जनाले हचुवाकै भरमा सन्देश जारी गर्ने पुष्टि भयो । यसमा मुलतः पञ्चाङ निर्णायक समिति र राष्ट्रका प्रमुखहरुको सचिवालयको कमजोरी रहेको प्रष्ट हुन्छ ।
एक महिनाअघि नै मनाइसकेको ल्होसारमा सार्वजनिक विदा समेत दिइदा यसले आम शेर्पाहरु भावना, आत्मसम्मानमा ठूलो चोट त पुगेको छ नै राज्य संयन्त्र कति फितलो र मनमौजी रुपमा सञ्चालन हुने रहेछ भन्ने एउटा उदाहरण प्रष्ट भएको छ । विहानै ‘आज ग्याल्पो ल्होसार’ भनेर ठूलो शिर्षकमा समाचार प्रकाशन गर्ने प्राय मूलधारका मिडियाहरुले केही समयपछि शेर्पा संघको विज्ञप्ति पढेपछि ‘सरकारले हचुवामा विदा दिए’ भने लेख्न भ्याए । यसबाट ती मिडियाहरुपनि कसरी चलेका रहेछन् भनेर बुझ्न सकिने केही विज्ञहरुले टिप्पणी गरे ।
विशेषता मूलकमा लोकतान्त्रिक व्यवस्था स्थापनासँगै मूलभूत रुपमा राज्यमा उपस्थिती रहेको जाति, समुदायको महत्वपूर्ण चाडपर्वलाई राष्ट्रिय चाड घोषणा गर्दै सरकारले विदा दिने प्रचलन शुरु गर्यो । यसबाट ती जाति, समुदायलाई राष्ट्रप्रति अपनत्व महशुस हुँदै आएकोमा यसरी गलत र हचुवाको भरमा तिथिमिति तोकेर अन्यौल सिर्जना गराउँदा भने राज्य सञ्चालनको एकात्मक दृष्टिकोणमा फेरबदल नआएको भन्दै चिन्तितपनि छन् ।
ल्होसार तिथिकै सम्बन्धमा पञ्चाङ निर्णायक समितिका जिम्मेवार पदाधिकारीले हचुवामा विदा तयार पारे जस्तै जवाफपनि हचुवामै दिइए । समितिमा सम्वन्धित क्षेत्रको विज्ञहरु नहुनुले समस्या पैदा भएको भनेर स्वीकार्नुको सट्टो विषयलाई सामान्य ढंगले लिए । यसरी एउटा समुदायको आस्थामाथि धावा बोल्ने गरी तयार हुने भित्तेपात्रो र विदाहरुकै कारणले राज्य सञ्चालक प्रति थप वितृष्णा पैदा नहोला भन्न सकिन्न । तसर्थ, राज्य सञ्चालक, स्थायी सरकार, सम्बन्धित पक्ष गम्भिर हुनुपर्ने बेला आएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ०० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित